
चाडपर्व
जनै पूर्णिमा र रक्षाबन्धनको महत्त्व
श्रावण शुक्ल पूर्णिमालाई श्रावणी, जनै पूर्णिमा, ऋषितर्पणी, उपाकर्म तथा रक्षाबन्धन भनिन्छ। यस दिन जनै अभिमन्त्रण तथा धारण, ऋषितर्पण र रक्षासूत्र बाँध्ने गरिन्छ। साथै, यस दिन विशेष रूपमा क्वाँटी खाने चलन पनि रहेको छ।
डा. कान्ता भट्टराई
हामी नेपालीहरू चाडपर्व तथा धर्मसंस्कृतिमा धनी छौँ। श्रावण शुक्ल पञ्चमीदेखि विशेष रूपमा चाडपर्वहरू बाक्लिँदै जान्छन्। पञ्चमी तिथिका स्वामी नाग हुन्। श्रावण शुक्ल षष्ठी तिथिलाई कल्की जयन्ती भनिन्छ। यही दिन भगवान् विष्णुले कल्की अवतार लिनुभएको हो।
श्रावण शुक्ल पूर्णिमा तिथिलाई श्रावणी, जनै पूर्णिमा, उपाकर्म तथा रक्षाबन्धन भनिन्छ। यो दिन द्विज जाति अर्थात् ब्राह्मण, क्षत्रीय र वैश्यले नदी, इनार या पवित्र तीर्थकुण्डमा गएर विधिपूर्वक स्नान गर्ने गर्दछन्। गहुँत, गोबर, अपामार्ग, भस्म, सप्तमृत्तिका लगायत विभिन्न औषधीय वस्तुहरूले विधिपूर्वक महासङ्कल्प पाठ गरेर समूह नै जम्मा भएर स्नान गर्दछन्।
कुनै देवालय अथवा सार्वजनिक स्थानमा बसेर अथवा घरमै पनि जनै अभिमन्त्रण गर्दछन्। वेदाध्ययन गर्दछन्। यसरी अभिमन्त्रण गरिएको जनै लगाएर पुरानो जनैलाई विसर्जन गर्दछन्। यसै दिनमा रक्षाबन्धनको डोरो गुरु–पुरोहितबाट धारण गर्ने पनि नियम रहेको छ। जनै लगाउने अधिकार पाएकाहरूका निम्ति यो पर्व विशेष महत्त्वपूर्ण रहेको छ।
यस पर्वमा अरुन्धतीसहित रहेका सप्तऋषिहरूको पूजन गरिन्छ र आफ्ना शाखा, प्रवर आदिलाई तर्पण पनि गरिन्छ। ऋषिहरू सम्पूर्णलाई तर्पण गरेर गरिने हुनाले यसलाई ऋषितर्पणी पूर्णिमा पनि भनिन्छ। यसको महत्त्व हिन्दू धर्ममा विशेष रहेको छ।
ऋषितर्पणी पूर्णिमालाई पुरुषहरूको तीजका रूपमा पनि लिने गरिन्छ। उपनयन संस्कार भएकाहरूले अघिल्लो दिनमा कपाल मुन्डन गरेर भोलिपल्ट ऋषितर्पण, उपाकर्म, रक्षाबन्धन आदि कर्म गर्दछन्।
श्रावणी अर्थात् ऋषितर्पणी पूर्णिमामा विशेष गरेर ‘क्वाँटी’ खाने चलन रहेको छ। नेवारी भाषामा यसलाई क्वाँतिपुन्ही र गुहिपुन्ही पनि भनिन्छ। विधिपूर्वक अभिमन्त्रण गरिएको जनै मन्त्र उच्चारणपूर्वक धारण र रक्षाबन्धन गर्नाले आयु, आरोग्य बढ्ने र सर्वाङ्गीण रक्षा हुने विश्वास गरिन्छ।
त्यसैगरी, टुसा आएको क्वाँटी गेडागुडीहरू खानाले शरीरमा शक्ति र ऊर्जा प्राप्त हुन्छ। रोग आदि नाश भएर जाने विश्वास गरिन्छ।
श्रावण शुक्ल पूर्णिमामा श्रावण स्नान र उपाकर्म गरिन्छ। पूर्णिमाको अघिल्लो दिनमा नै उपनयन गरेकाहरूले कपाल मुण्डन गरेर हविष्यान्न भोजन गर्दछन्। भोलिपल्ट अर्थात् पूर्णिमाको दिन नदी, तलाउ आदिमा गएर विधिपूर्वक श्रावणी स्नान गर्दछन्। विधिपूर्वक स्नान गरिसकेपछि उपाकर्म अर्थात् वेदाध्ययन गरिन्छ। नयाँ जनै र डोरो अभिमन्त्रण गरिन्छ।
जनैलाई यज्ञोपवीत, यज्ञसूत्र अथवा ब्रह्मसूत्र पनि भनिन्छ। जनै सर्वप्रथम ब्रह्माले निर्माण गरेका हुन्, विष्णुले ज्ञान, उपासना र कर्मकाण्ड यी तीन गुणले युक्त बनाए र शिवले शिखा अर्थात् गाँठो बनाए र गायत्री देवीले अभिमन्त्रण गरिन्।
जनैका ९ वटा तन्तुहरूमा ॐकार, अग्नि, नाग, सोम, पितृगण, प्रजापति, वायु, सूर्य र विश्वदेव गरी ९ वटा देवताहरू र मुख्य ३ डोरामा ब्रह्मा, विष्णु र महेश्वरको वास हुन्छ। साथै, मुख्य ग्रन्थी वा शिखामा ब्रह्मको वास हुन्छ। जनैको महत्त्वका बारेमा वेद, उपनिषद्, स्मृति आदिमा उल्लेख भएको पाइन्छ।
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।
पवित्र जनै धारण गर्दा दीर्घायु, तेज, सद्बुद्धि र बल प्राप्त हुन्छ भन्ने कुरा शास्त्रले उल्लेख गरेका छन्।
जनै धारण गरिसकेपछि कहिले पनि फुकाल्नु हुँदैन। अकस्मात् जनै चुँडिँदा पनि नयाँ जनै फेरिहाल्नु पर्दछ। छोइछाई हुँदा, आशौच पर्दा पनि पुरानो जनै निकालेर नवीन जनै धारण गर्नुपर्दछ। जनै बिहान–बेलुका सन्ध्यावन्दन गर्दा, पितृकार्य तथा देवकार्य सम्पन्न गर्दा अति आवश्यक पर्दछ।
जसको उपनयन संस्कार अर्थात् व्रतबन्ध भएको छ, उसले जनै नलगाई कुनै पनि कर्म गर्नु हुँदैन, जनै नलगाई पानी पनि नखानु भनिएको छ। जनै नलगाई पानी मात्र पिए पनि उपवास बसेर पञ्चगव्यको सेवन गरेपछि मात्र शुद्ध हुन्छ।
विनाजनै शौच पनि जानु हुँदैन, गएमा दुई छाक उपवास बसेर दान र होम गरेपछि मात्र शुद्ध हुन्छ। यस्तो पवित्र जनैलाई अभिमन्त्रण गर्ने दिन श्रावणी हो।
आफ्नो शरीर र आफ्नो जीवनको रक्षाका निमित्त हातमा बाँधिने सूत्रलाई रक्षाबन्धन भनिन्छ। भगवान्का विभिन्न नामहरू उच्चारण गरेर, विभिन्न देवी–देवताहरूलाई आह्वान गरेर पूजा गरी अनि मात्र रक्षासूत्र बाँध्नुपर्दछ।
रक्षाबन्धन पुरुषले दाहिने हातमा र महिलाले देब्रे हातमा बाँध्नुपर्ने शास्त्रीय नियम रहेको छ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल।।
आजभोलि रक्षासूत्रभन्दा दाजुभाइ र दिदीबहिनीले एक–आपसमा राखी बाँध्ने चलन पनि बढी देखिन्छ। पुरानो प्रचलनमा राखी बाँध्ने चलन नभए पनि यो छिमेकी राष्ट्रबाट प्रभावित संस्कृतिको रूपमा रहेको छ।
यसलाई पनि हामीले सकारात्मक रूपमा नै लिनुपर्दछ। दिदीबहिनी र दाजुभाइको बीचमा आपसी सम्बन्धलाई प्रगाढ बनाउने रूपमा राखी पनि रहेको छ।
ऋषितर्पणी पूर्णिमामा विभिन्न नदी, कुण्ड तथा तलाउहरूमा मेला लाग्ने गर्दछ। विशेष गरेर रसुवाको गोसाइँकुण्डमा र ललितपुरको कुम्भेश्वर मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।
सबैजनालाई हामी रक्षाबन्धन, ऋषितर्पणी तथा उपाकर्मको शुभकामना व्यक्त गर्दछौँ।
Published by KaryaVidhan Team
Comments (0)
No comments yet.
Sign in to write a comment.